समाचार
माछापुच्छ्रे गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७६ शुरु
माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ माछापुच्छ्रे गाउँपालिकामा वडा नं. ४ लाहाचोक स्थित महेन्द्र मा.वि.को खेल मैदानमा मिति २०७६ माघ १२ गते आइतबार देखि शुरु भएको छ। रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीच विभिन्न स्पर्धामा जस्तै एथ्लेटिक्स, भलिबल लगायतका खेलमा प्रतिस्प्रधा गराईनेछ। प्रतियोगिताको उद्घाटन पानसमा दिप प्रज्वलन गरि गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गर्नुभयो। आज भएको १५०० मिटर छात्र दौडमा ज्ञानज्योति बोर्डिङका विकेक परियार प्रथम, महेन्द्र मा.विका मन्दिप नेपाली द्धितीय तथा शारदा मा.विका केशव जिसी तृतीय भए। सोही विधाको स्पर्धामा छात्रातर्फ उदय मा.विका विनु वि.क र रितु भण्डारी क्रमशः प्रथम तथा द्धितीय र बराह मा.विका कविता अधिकारी तृतीय भए। त्यसैगरि १०० मिटर छात्र दौडमा बराह मा.विका सागर परियार प्रथम, शारदा मा.विका केशव जिसी द्धितीय र महेन्द्र मा.विका सरोज नेपाली तृतीय भए । मार्चपासमा शारदा मा.वि प्रथम, महेन्द्र मा.वि द्धितीय र गौरीशंकर मनिलाल मा.विले तेस्रो स्थान हासिल गरे। विजयी खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ्ग, वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्साल, खेल मूल आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगितामा १००,२००,४००, ८०० र एक हजार ५०० मिटर छात्र-छात्रा दौड, ४०० मिटर छात्र-छात्रा रिले दौड, छात्र-छात्रा हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो, सटपुट, छात्र-छात्रा भलिबल तथा कवड्डी समावेश गरिएको छ।